वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार ह्वाइट हाउसमा औपचारिक वार्ता सुरु भएको छ। एक दशकपछि अमेरिकाको राजकीय भ्रमणमा आएका सीलाई ट्रम्पले ह्वाइट हाउसमा स्वागत गर्दै दुई देशबीचको छलफलले आगामी दशकमा शान्ति र समृद्धिलाई प्रभाव पार्न सक्ने बताएका छन्।>
ट्रम्पले सीलाई अमेरिकाको दोस्रो राजकीय भ्रमण गर्ने पहिलो चिनियाँ नेता भएको उल्लेख गर्दै सुरक्षा, प्रविधि र कृत्रिम बौद्धिकता (एआई) लगायतका विषयमा महत्वपूर्ण छलफल हुने बताए। ट्रम्पले पछिल्लो समय एआईलाई ‘सुपर इन्टेलिजेन्स’ भन्ने गरेका छन्।>
ट्रम्पले अमेरिका–चीन व्यापार सम्बन्धलाई पहिलेभन्दा सन्तुलित बनाउने दिशामा काम भइरहेको बताए। दुई देशबीच व्यापार, प्रविधि, दुर्लभ खनिज तथा एआईलगायतका विषय लामो समयदेखि प्रमुख छलफलका विषय रहँदै आएका छन्। >
सी चिनफिङले ट्रम्पको निमन्त्रणामा अमेरिका आएको उल्लेख गर्दै मित्रता कायम राख्न, सहकार्य विस्तार गर्न तथा दुवै देशका जनताको हित र समृद्धि प्रवर्द्धन गर्न भ्रमण गरेको बताए। उनले वर्तमान विश्वमा ठूला परिवर्तन भइरहेकाले चीन र अमेरिकाले मानव विकास तथा प्रगतिका लागि ऐतिहासिक जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखे।>
सीले चीन र अमेरिका दोस्रो विश्वयुद्धका क्रममा फासीवादविरुद्ध मिलेर लडेको इतिहास स्मरण गर्दै दुई देशबीच संवाद र सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए। उनले दुवै देशबीच द्वन्द्वभन्दा सहकार्यबाट लाभ हुने र सैन्य पक्षबीच संकट व्यवस्थापन तथा संवादका संयन्त्र थप मजबुत बनाउनुपर्नेमा जोड दिए।>
एआईबारे सीले यसको विकास मानव नियन्त्रणभित्र र जनताको हितमा हुने गरी अघि बढाउनुपर्ने बताएका छन्। चीन र अमेरिका एआई क्षेत्रमा अग्रणी देश भएकाले यस क्षेत्रमा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।>
सीले आगामी पाँच वर्षमा १ लाख अमेरिकी युवालाई चीन भ्रमण तथा आदानप्रदानका लागि निमन्त्रणा पनि दिएका छन्। साथै, उनले अमेरिकाको एटलान्टा चिडियाखानामा दुई वटा पाण्डा पठाउने घोषणा गरे। >
दुई नेताबीचको वार्तामा व्यापार, सुरक्षा, प्रविधि, एआई र दुई देशबीचको सम्बन्ध व्यवस्थापन मुख्य विषयका रूपमा रहने अपेक्षा गरिएको छ।>
>>