काठमाडौं — टिकटकमा नक्कली प्रोफाइल बनाएर विभिन्न व्यक्तिलाई अनलाइनमार्फत ठगी गर्ने आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ।>
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सस्तो मूल्यमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलका पार्टपुर्जा उपलब्ध गराउने भन्दै विभिन्न व्यक्तिबाट अग्रिम रकम लिएर सम्पर्कविहीन हुने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।>
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–५ घर भई हाल गोकर्णेश्वर बस्ने २२ वर्षीय दिपुश सिंह, सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २१ वर्षीय सन्दीप कुमार सिंह कुशवाहा र सप्तरीको राजविराज नगरपालिका–९ घर भई हाल ग्वार्को बस्ने २१ वर्षीय सुमित दास रहेका छन्।>
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई भदौ १६ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।>
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले टिकटकमा ‘CERTIFIED EV SELLER’, ‘@scooter_showroom’ र ‘Bikersgearnp’ लगायतका नक्कली प्रोफाइल सञ्चालन गरेको खुलेको छ।>
ती प्रोफाइलमार्फत उनीहरूले सस्तो मूल्यमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलका विभिन्न पार्टपुर्जा घरमै पुर्याइदिने भन्दै आकर्षक विज्ञापन गर्ने गरेका थिए। विज्ञापन हेरेर सम्पर्क गर्ने ग्राहकलाई विश्वासमा पारी सामानको प्रि–बुकिङ तथा डेलिभरीका लागि अग्रिम रकम पठाउन लगाउने र रकम प्राप्त भएपछि सम्पर्कविहीन हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।>
एआईको प्रयोग गरी नक्कली प्रमाण तयार
अनुसन्धानका क्रममा गिरोहले ग्राहकको विश्वास जित्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको समेत दुरुपयोग गरेको पाइएको प्रहरीले जनाएको छ।>
उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको देखाउने गरी एआईको प्रयोगबाट नक्कली भुक्तानी रसिद तयार गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका थिए। यसरी आफूलाई सामाजिक रूपमा जिम्मेवार व्यक्ति तथा व्यवसायीका रूपमा प्रस्तुत गरी ग्राहकको विश्वास जित्ने प्रयास गरेको पाइएको छ।>
ग्राहकको नागरिकता पनि दुरुपयोग
प्रहरीका अनुसार गिरोहले टिकटक प्रोफाइलमा ह्वाट्सएप नम्बर राखेर ग्राहकसँग प्रत्यक्ष कुराकानी गर्ने गरेको थियो। सामान प्रि–बुकिङका नाममा ग्राहकको नागरिकता माग्ने र प्राप्त नागरिकताको विवरण तथा तस्बिरलाई एआईको प्रयोगमार्फत परिवर्तन गरी अन्य व्यक्तिलाई झुक्याउन प्रयोग गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको छ।>
त्यसैगरी ग्राहकबाट प्राप्त नागरिकताको दुरुपयोग गरी एनक्यास, खल्ती, सिटी पे र सेल पे लगायतका डिजिटल वालेटमा केवाईसी प्रमाणीकरण गरी खाता खोल्ने र ती खातामार्फत अवैध कारोबार गर्ने गरेको पनि खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।>
कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेका तीनै जनामाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।>
प्रहरीले अनलाइनबाट सामान खरिद गर्दा सम्बन्धित विक्रेता तथा व्यवसायको आधिकारिकता जाँच गर्न र अपरिचित व्यक्तिलाई नागरिकता लगायत संवेदनशील कागजात नपठाउन सर्वसाधारणलाई आग्रह गरेको छ।>
>>