काभ्रे, २८ असोज। नेपालीहरूको महान् चाड बडादशैंलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लाभर १० दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ।>
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असोज ३१ गतेदेखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन गर्न नपाइने जनाएको हो। प्रशासनका अनुसार फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरिएको छ।>
जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार उक्त अवधिमा टिपर सञ्चालन नगर्न तथा नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए।>
उनका अनुसार दशैंका बेला बीपी राजमार्ग, अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको हो।>
चाडपर्वका समयमा यात्रुवाहक सवारीसाधनको आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले टिपर सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।>
प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न तथा नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ।>
>>