काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछि सरकारले खोज तथा उद्धारको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाएका छन्।>
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै राईले रसुवालगायत बाढी प्रभावित जिल्लामा खोज, उद्धार तथा राहतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताएका हुन्।>
उनले रसुवाको हाकुबेसीस्थित सुरुङमा फसेका नागरिकको उद्धारका लागि पर्याप्त सुरक्षाकर्मी तथा विज्ञ परिचालन नगरिएको आरोपसमेत लगाए।>
‘हाकुबेसी सुरुङमा हाम्रो अध्यक्षज्यूसहितको टोलीले काम गरिरहेको छ। त्यहाँ करिब ३ सय जना बेपत्ता हुनुहुन्छ। अहिले जम्मा २० जना उद्धारकर्मी मात्र खटाइएको छ। यो सरकारलाई म प्रश्न गर्न चाहन्छु,’ उनले भने।>
प्रमुख सचेतक राईले चिलिमे हाइड्रोपावर क्षेत्रमा समेत ६ देखि ८ जना बेपत्ता भएको जानकारी आएको बताए। सरकारको कमजोरीका कारण उद्धार गर्न सकिने नागरिकको समेत अकालमा ज्यान गएको उनको आरोप थियो।>
‘चिलिमे हाइड्रोपावरमा पनि करिब ६ देखि ८ जना त्यहाँभित्र बेपत्ता छन् भनिएको छ। सरकारको कमजोरीका कारण धेरै बाँच्न सक्ने र बचाउन सकिने आम नागरिकको अकालमा ज्यान गएको छ,’ उनले भने।>
राईले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।>
>>