काठमाडौं, १४ असोज — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाढीपहिरोबाट क्षतिग्रस्त विद्युत् तथा सडक पूर्वाधारको शीघ्र पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन्।>
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले त्रिशूली र कालीगण्डकी करिडोरका विद्युत् प्रसारण प्रणालीको पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।>
उनले स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास कायम राख्न स्पष्ट कार्ययोजना तयार गरी आवश्यक सहजीकरण तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका छन्।>
घिसिङका अनुसार त्रिशूली र कालीगण्डकी करिडोरका प्रसारण लाइनमा भएको क्षतिले विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमा दबाब सिर्जना गरेको छ। आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापन थप चुनौतीपूर्ण हुनसक्ने अवस्था रहेकाले तत्काल पुनर्स्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान गरी निर्माण कार्यलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ।>
उनले विद्युत् पूर्वाधारको क्षति कुनै एक क्षेत्रको मात्र समस्या नभई नागरिकको जीवन, राष्ट्रिय ऊर्जा सुरक्षा र नेपालको समग्र विकाससँग जोडिएको गम्भीर राष्ट्रिय चुनौती भएको बताएका छन्।>
घिसिङले संकटको समयमा स–साना विषयमा अल्झिनुभन्दा देशको ऊर्जा सुरक्षा, प्रभावित नागरिकको जीवन तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।>
>>