काठमाडौं — रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २० जनामध्ये १७ जना उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज भएका छन्।>
वीर अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार बाढीमा परी घाइते भएका २० जनालाई उपचारका लागि अस्पताल ल्याइएको थियो। स्वास्थ्य अवस्थामा सुधार आएपछि १७ जनालाई डिस्चार्ज गरिएको हो।>
अस्पतालमा अझै तीन जना उपचाररत छन्। निर्देशक डा. नेपालका अनुसार उपचाररत तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।>
यसैबीच, बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।>
सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सम्पर्कविहीन आफन्तको विवरण टिपाउने काम भइरहेको प्रहरीले जनाएको छ। आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिन आफन्तहरू अस्पताल पुग्ने क्रम पनि जारी छ।>
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणको कामलाई समेत निरन्तरता दिइएको छ। उद्धार गरिएका घाइतेको उपचार तथा उनीहरूका आफन्तसँग समन्वय गर्न सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्।>
>>