काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण त्रिशूली करिडोरका विभिन्न जलविद्युत आयोजनामा कार्यरत सयौं मानिस सम्पर्कविहीन भएका छन्। सुरुङभित्र फसेका कामदार तथा कर्मचारीको उद्धारमा भने चार दिन बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन।>
६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, लाङटाङ र चिलिमेलगायत आयोजनामा सुरुङ तथा आयोजनास्थलमा ठूलो संख्यामा मानिस फसेको वा सम्पर्कविहीन रहेको सम्बन्धित आयोजनाले जनाएका छन्।>
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा करिब ४२ जना फसेको अनुमान छ। सुरुङसम्म पुग्न पुरिएका एक्सेस टनेल खोज्ने र खोल्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।>
त्यस्तै, माथिल्लो त्रिशूली–१ मा सम्पर्कविहीन करिब ५७६ जनामध्ये करिब ४०० जना सुरुङमा फसेको हुनसक्ने अनुमान गरिएको छ। आयोजनास्थलमा उद्धारका लागि आवश्यक उपकरण तथा जनशक्ति परिचालन गर्न ढिलाइ भएको आयोजनाले जनाएको छ।>
लाङटाङ आयोजनाको सुरुङमा करिब २५ जना फसेको आशंका गरिएको छ भने चिलिमे जलविद्युत आयोजनाको सुरुङमा ६ जना कर्मचारी फसेका छन्। चिलिमेमा पुगेको पर्वतारोही उद्धार टोलीले सुरुङभित्र करिब १०० मिटरपछि लेदो तथा अवरोध भेटिएपछि विशेष उपकरणसहितको विज्ञ टोली आवश्यक रहेको जनाएको छ।>
यसैबीच, उद्धारमा सहयोग गर्न चिनियाँ र भारतीय विज्ञ टोली नेपाल आइपुगेका छन्। चिनियाँ सुरुङ विज्ञ टोलीले माथिल्लो त्रिशूली–१ क्षेत्रमा उद्धारका लागि काम गर्ने तयारी गरेको छ भने भारतीय टोलीले प्रभावित क्षेत्रको प्रारम्भिक निरीक्षण गरेको जनाइएको छ।>
निजी विद्युत् उत्पादकहरूको संस्था इप्पानका अनुसार रसुवा बाढीपछि ११ जलविद्युत आयोजनाका ८९८ जना अझै सम्पर्कविहीन छन्। हालसम्म विभिन्न आयोजनाबाट ३६१ जनाको जीवित उद्धार गरिएको जनाइएको छ।>
विज्ञहरूले सुरुङभित्र फसेकाहरूको उद्धारमा समय निकै महत्वपूर्ण हुने भन्दै आवश्यक उपकरण, दक्ष जनशक्ति र विदेशी प्राविधिक सहयोगलाई तत्काल परिचालन गर्न सरकारसँग आग्रह गरेका छन्।>
>>