काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसपीएएन) ले आगामी सोमबारदेखि सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेज उपलब्ध नगराउने घोषणा गरेको छ।>
आईएसपीएएनका अध्यक्ष सुधीर पराजुलीले जारी गरेको विज्ञप्तिअनुसार असोज १९ गतेदेखि हाल सञ्चालनमा रहेका सुपथ मूल्य तथा कम गतिको इन्टरनेट प्याकेज बन्द गरिनेछ। केही रिपोर्टअनुसार ५० एमबीपीएसभन्दा कम गतिको प्याकेज यस निर्णयको दायरामा पर्नेछ।>
संघले पछिल्ला वर्षमा बढेको मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य, फाइबरको मूल्यवृद्धि, उच्च मुद्रास्फीति तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै इलेक्ट्रोनिक्स र चिपसेटको मूल्य बढ्दा इन्टरनेट सेवा प्रदायकको सञ्चालन खर्चमा दबाब परेको जनाएको छ।>
यी कारणले सेवा प्रदायकहरूको सञ्चालनमै कठिनाइ उत्पन्न भएकाले सस्तो तथा कम स्पिडका प्याकेजलाई निरन्तरता दिन नसकिएको आईएसपीएएनको भनाइ छ। यसबाट ग्राहकलाई पर्न जाने असुविधाप्रति संघले क्षमासमेत मागेको छ।>
आईएसपीएएनले सबै इन्टरनेट सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट आफ्ना वेबसाइटमा ग्राहकले सहज रूपमा देख्न सक्ने गरी सार्वजनिक गर्न आग्रह गरेको छ। साथै, ग्राहकलाई इन्टरनेट सेवा खरिद गर्दा अनिवार्य रूपमा भ्याट बिल लिन अनुरोध गरिएको छ।>
संघले सेवा प्रदायकहरूलाई गुणस्तरीय सेवा प्रवाहलाई निरन्तरता दिँदै ‘डिजिटल नेपाल’ को लक्ष्यमा योगदान गर्न पनि आग्रह गरेको छ।>
आईएसपीएएनका अनुसार यो निर्णय बढ्दो सञ्चालन लागत र सेवा गुणस्तर कायम गर्ने चुनौतीका बीच गरिएको हो।>
>>