सिड्नी । पश्चिमी सिड्नीको अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ।>
अधिकारीमाथि लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा मुद्दा चलाइएको हो। अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार घटनापछि उनलाई पक्राउ गरिएको थियो। प्रारम्भिक अदालत उपस्थितिमा उनले आरोपबारे कुनै औपचारिक जवाफ वा बयान दिएका छैनन्।>
घटना भएको २४ घण्टाभन्दा कम समयमै अधिकारी बुधबार बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए। अदालतबाट बाहिरिँदा सञ्चारकर्मीले प्रश्न गरेपछि उनी केही समर्थकसँग देखिएका थिए। सञ्चारमाध्यमका अनुसार उनले कागजको पानाले आफ्नो अनुहार छोप्ने प्रयाससमेत गरेका थिए।>
अधिकारीका वकिल ड्यानी इडले घटनालाई अत्यन्तै दुःखद बताएका छन्। उनका अनुसार अधिकारी घटनापछि निकै तनावमा छन् र मृतक बालिकाको परिवार तथा उनीहरूको अवस्थाबारे चिन्तित छन्।>
कसरी भयो घटना ?
मंगलबार दिउँसो करिब २ बजेको समयमा अर्बनको नर्मनबी रोडस्थित घरको ड्राइभवेमा कारको ठक्करबाट बालिका गम्भीर घाइते भएकी थिइन्।>
रिपोर्टअनुसार बालिका आफ्नो भाइसँग घरको अगाडिको भागमा खेलिरहेकी थिइन्। त्यही क्रममा अधिकारीले चलाएको कार ड्राइभवेमा प्रवेश गर्दा उनलाई ठक्कर लागेको थियो। गम्भीर घाइते भएकी बालिकालाई तत्काल वेस्टमिड अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा केही समयपछि उनको मृत्यु भएको थियो।>
घटनामा अधिकारीलाई चोटपटक लागेको थिएन। उनलाई अनिवार्य परीक्षणका लागि अस्पताल लगिएपछि प्रहरी स्टेसन पुर्याइएको थियो र त्यसपछि उनीविरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ।>
अधिकारीलाई सर्तसहित जमानत दिइएको छ। उनलाई आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ।>
अदालतमा मुद्दा विचाराधीन रहेकाले अधिकारीमाथि लागेको आरोप हालसम्म प्रमाणित भएको छैन।>
>>