काठमाडौं– हवाई उडानमा गम्भीर जोखिम निम्त्याउन सक्ने चराचुरुङ्गी तथा वन्यजन्तुको गतिविधि नियन्त्रण गर्न सरकारले विमानस्थल वरिपरि कडा वातावरणीय मापदण्ड लागू गर्ने प्रस्ताव गरेको छ।>
सङ्घीय संसद्मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ मा विमानस्थलको निश्चित क्षेत्रभित्र अव्यवस्थित रूपमा वधशाला सञ्चालन तथा फोहोरमैला थुपार्न रोक लगाउने व्यवस्था गरिएको छ।>
विधेयकको दफा १९ मा चराचुरुङ्गी, वन्यजन्तु तथा फोहोरमैला नियन्त्रणसम्बन्धी विशेष व्यवस्था गरिएको छ। उपदफा (३) मा विमानस्थल र त्यसको तीन किलोमिटर वरिपरिको क्षेत्रमा अव्यवस्थित रूपमा वधशाला स्थापना गर्ने वा फोहोरमैला थुपार्ने कार्य गर्न नहुने उल्लेख छ।>
फोहोर तथा मासुका अवशेषका कारण चिल, गिद्धलगायतका चराचुरुङ्गी आकर्षित हुने र ती चराहरू विमानसँग ठोक्किँदा उडान सुरक्षामा जोखिम बढ्ने भएकाले यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।>
विधेयकमा उक्त प्रावधान उल्लङ्घन गर्नेलाई आर्थिक कारबाहीको व्यवस्था समेत गरिएको छ। दफा ३९ को खण्ड (च) ले विमानस्थलको तीन किलोमिटर वरिपरि अव्यवस्थित रूपमा वधशाला स्थापना गर्ने वा फोहोरमैला थुपार्ने कार्यलाई कसुरका रूपमा परिभाषित गरेको छ।>
यस्तो कसुर गर्ने व्यक्ति वा संस्थालाई दफा ४० को उपदफा (१) को खण्ड (क) बमोजिम प्राधिकरणका प्रबन्ध निर्देशकले कसुरको मात्रा हेरी २० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्ताव गरिएको छ।>
त्यस्तै, एकपटक सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसुर दोहोर्याएमा अघिल्लो सजायभन्दा दोब्बर जरिवाना हुने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ।>
>>