कञ्चनपुर । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो कर्नाटकबाट नेपाल आएका भारतीय प्रहरीका असईसहित दुई जनालाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो।>
प्रहरीका अनुसार उनीहरू दोधारा चाँदनीका शंकर लुहारलाई पक्राउ गर्ने उद्देश्यले उनको घरसम्म पुगेका थिए। भारतीय प्रहरी नेपालभित्र प्रवेश गरी नेपाली नागरिकलाई पक्राउ गर्न खोजेको सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।>
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले भारतीय प्रहरीका दुई जनालाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नियन्त्रणमा राखिएको पुष्टि गरेका छन्।>
उनका अनुसार घटनाबारे माथिल्लो निकायमा जानकारी गराइसकिएको छ। माथिल्लो निकायबाट आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।>
प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीसँग समन्वय तथा पूर्वजानकारीबिना नेपाली भूमिमा प्रवेश गर्ने भारतीय प्रहरीमा कर्नाटक प्रहरीका असई सतिश एमआर र प्रहरी जवान अल्फाब आरएस रहेका छन्।>
अनुमतिबिना विदेशी सुरक्षा निकायका सदस्य नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकलाई पक्राउ गर्न खोजेको घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया माथिल्लो निकायको निर्देशनअनुसार अघि बढाइनेछ।>
>>