गण्डकी — अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आर्थिक वर्ष २०८२/०८३ मा पर्यटक प्रवेश शुल्कबाट ६७ करोड ७५ लाख ९० हजार ९८६ रुपैयाँ आम्दानी गरेको छ। गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक पुगेपछि प्रवेश शुल्कबाट हुने आम्दानी पनि उल्लेख्य बढेको हो।>
आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार गत आवमा दक्षिण एसियाली मुलुकबाट ३ लाख ८४ हजार १४५ र अन्य मुलुकबाट १ लाख २४ हजार ३३१ गरी कुल ५ लाख ८ हजार ४७६ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए।>
कुल पर्यटकमध्ये सबैभन्दा धेरै ३ लाख ७५ हजार ७९७ जना भारतीय पर्यटक रहेका थिए। एक्यापले दक्षिण एसियाली मुलुकका पर्यटकबाट प्रतिव्यक्ति १ हजार रुपैयाँ र अन्य मुलुकका पर्यटकबाट ३ हजार रुपैयाँ (भ्याटसहित) प्रवेश शुल्क लिँदै आएको छ।>
डा. कडरियाका अनुसार भारतीय पर्यटकको संख्या उल्लेख्य बढेकाले पर्यटक शुल्कबाट प्राप्त आम्दानी पनि अहिलेसम्मकै उच्च भएको हो।>
आर्थिक वर्ष २०८१/०८२ मा पर्यटक प्रवेश शुल्कबाट ४६ करोड ४८ लाख ८१ हजार ४८४ रुपैयाँ र आव २०८०/०८१ मा ३८ करोड ९४ लाख ६१ हजार ४८३ रुपैयाँ सङ्कलन भएको थियो।>
गत आवमा भारतसहित १६९ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए। आव २०८१/०८२ मा २ लाख ७८ हजार ११३ पर्यटक आएकोमा गत आवमा यो संख्या झण्डै दोब्बर पुगेको आयोजना प्रमुख कडरियाले बताए।>
पर्यटक शुल्कबाट प्राप्त आम्दानीको ठूलो हिस्सा संरक्षण गतिविधि तथा पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च हुने गरेको छ। सरकारबाट एक्यापका लागि छुट्टै बजेट नआउने र पर्यटक शुल्कलगायत स्थानीय आम्दानीबाट कार्यालय सञ्चालन, कर्मचारी व्यवस्थापन तथा वार्षिक कार्यक्रम सञ्चालन हुँदै आएको आयोजना कार्यालयले जनाएको छ।>
एक्यापले पदमार्ग निर्माण, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना, आयआर्जन तथा संरक्षण शिक्षालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।>
आयोजना कार्यालयका अनुसार पर्यटक प्रवेश शुल्कबाट प्राप्त रकम एक्यापमै रहने भए पनि जडीबुटी सङ्कलनलगायत प्राकृतिक स्रोतको उपयोगबाट प्राप्त रकम भने नेपाल सरकारको राजस्वमा जम्मा हुने गरेको छ। जलविद्युत् आयोजनाको शुल्क, पर्वतारोहण शुल्क तथा निषेधित क्षेत्र प्रवेश शुल्कबाट पनि राजस्व सङ्कलन हुँदै आएको छ।>
विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार–फू क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट गत आवमा २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ प्रवेश शुल्क सङ्कलन भएको जनाइएको छ। निषेधित क्षेत्र प्रवेश शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुँदै आएको छ।>
विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा असोज–कात्तिक र चैत–वैशाखलाई मुख्य पदयात्रा याम मानिन्छ। वर्षा र जाडोमा पदयात्रीको संख्या घट्ने भए पनि अन्य समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ।>
७ हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्।>
मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गर्ने गरेका छन् भने अन्य देशका पर्यटकले पदयात्रालाई प्राथमिकता दिने गरेका छन्। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, घोडेपानी र पुनहिललगायत गन्तव्यमा बर्सेनि ठूलो संख्यामा आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन्।>
>>