काठमाडौं, ९ असोज । असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको प्रक्षेपण गरिएपछि गण्डकी बेसिनमा रहेका जलविद्युत आयोजनामा उच्च सतर्कता अपनाइएको छ।>
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाका कारण गण्डकी क्षेत्र बढी प्रभावित हुनसक्ने प्रक्षेपण गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागले गण्डकी बेसिनका सबै जलविद्युत आयोजनालाई हाइ अलर्टमा राखेको जनाएको छ।>
विभागका महानिर्देशक सागरराज गौतमका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका आयोजना तथा निजी क्षेत्रबाट सञ्चालित आयोजनामा उच्च सतर्कता अपनाइएको छ। प्राधिकरणले आफ्ना सबै आयोजनालाई मौसमको निरन्तर जानकारी लिएर आवश्यक सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ भने निजी क्षेत्रका आयोजनाका लागि इप्पानले समन्वय गरिरहेको छ।>
बिहीबार साँझ बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिक्दै मौसम प्रणालीको निरन्तर अपडेट लिएर गण्डकीलगायत सम्भावित जोखिमयुक्त क्षेत्रमा जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारको सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका थिए।>
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले गण्डकीका सबै आयोजनालाई चौबिसै घण्टा उच्च सतर्कतामा राखिएको बताए। उनका अनुसार प्राधिकरणले निरन्तर समन्वय गरिरहेको छ भने निजी क्षेत्रका तर्फबाट इप्पानले प्राधिकरणमा प्रतिनिधि खटाएर समन्वय गरिरहेको छ।>
ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार यसअघि भोटेकोशी बाढीबाट विद्युत् पूर्वाधार, जलविद्युत् आयोजना तथा सबस्टेसनमा क्षति पुग्दा करिब १० प्रतिशत बिजुली प्रणालीबाट बाहिरिएको थियो। त्यसबाट पाठ सिक्दै सरकारले सम्भावित विपत्तिको सामना गर्न पूर्वतयारी र पूर्वसूचनालाई विशेष प्राथमिकता दिएको छ।>
>>