काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा नेपाललाई निम्तो नदिइएको विषयमा सरकारसँग प्रश्न गरेकी छन्।>
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शर्माले छिमेकी भारतमा आयोजित ब्रिक्स सम्मेलनमा नेपालको सहभागिता हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराइन्।>
‘सरकारलाई म सोध्न चाहन्छु, छिमेकमै भएको ब्रिक्सको निम्तोबाट नेपाल किन चुक्यो ? के यो परराष्ट्र नीति र कूटनीतिको असफलता होइन र ?’ उनले प्रश्न गरिन्।>
नेपाल ब्रिक्सको सदस्य राष्ट्र होइन। यस वर्षको १८औँ ब्रिक्स शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा सेप्टेम्बर १२ र १३ मा आयोजना भएको थियो। सम्मेलनमा ब्रिक्सका सदस्य तथा साझेदार मुलुकका प्रतिनिधिहरू सहभागी भएका थिए।>
यसअघि सन् २०१६ मा भारतको गोवामा आयोजित आठौँ ब्रिक्स शिखर सम्मेलनसँगै BRICS-BIMSTEC Outreach Summit आयोजना गरिएको थियो। उक्त कार्यक्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका थिए। परराष्ट्र मन्त्रालयको अभिलेखअनुसार प्रचण्डले सो अवसरमा ब्रिक्स र बिमस्टेकबीच सहकार्य तथा विकासका विषयमा सम्बोधन गरेका थिए।>
२०१६ को गोवा सम्मेलनमा नेपालसहित बिमस्टेक सदस्य राष्ट्रका नेताहरूलाई सहभागी गराइएको थियो। त्यस क्रममा प्रचण्डले ब्रिक्स र बिमस्टेकबीच सहकार्यलाई थप विस्तार गर्नुपर्ने धारणा राखेका थिए।>
तर यसपटक भारतमा आयोजित ब्रिक्स सम्मेलनमा नेपाल सहभागी हुन पाएन। नेपालको सहभागिता नहुनुको विषयमा राजनीतिक वृत्तमा बहस भइरहेका बेला सांसद शर्माले सरकारको कूटनीतिक पहलमाथि प्रश्न उठाएकी हुन्।>
हालसम्म सार्वजनिक विवरणअनुसार नेपाल ब्रिक्सको सदस्य वा साझेदार राष्ट्र होइन। यस वर्षको सम्मेलनमा सहभागी हुने मुलुकको संरचना २०१६ को BRICS-BIMSTEC Outreach ढाँचाभन्दा फरक थियो।>
>>