सिरहा, २४ असोज। सिरहाका दुई छुट्टाछुट्टै स्थानमा विद्युत् सर्टसर्किटका कारण आगलागी हुँदा चारवटा पशुचौपायाको मृत्यु भएको छ। आगलागीबाट घरगोठ, अन्नपात, भाँडाकुँडा तथा अन्य सामग्री जलेर नष्ट भएका छन्। दुवै घटनामा मानवीय क्षति भने भएको छैन।>
गोलबजार नगरपालिका–३ स्थित नेवारकुनी, चोरपाने निवासी गंगाबहादुर सुनुवारको घरगोठमा शुक्रबार राति करिब १२ बजे विद्युत् मिटरमा सर्टसर्किट भई आगलागी भएको हो। आगलागीमा एउटा गोरुको मृत्यु भएको छ भने करिब पाँच क्विन्टल अन्नबाली, भाँडावर्तन र घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्।>
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक दीपक खरेलका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर क्षतिको विवरण संकलन गर्न मुचुल्का तयार गर्ने प्रक्रिया अघि बढाएको छ। मुचुल्का तयार भएपछि मात्रै क्षतिको विस्तृत विवरण खुल्ने उनले बताए।>
यसैगरी, विष्णुपुर गाउँपालिका–४ स्थित थल्हा बथान टोलमा पनि विद्युत्को तार सर्ट हुँदा आगलागी भएको छ। बिहीबार राति करिब १ः३० बजे स्थानीय ४७ वर्षीय वीरेन्द्र यादवको बाँसको टाटीले घेरिएको र फुसको छानो भएको एकतले गाईगोठ तथा भान्सा घरमा आगलागी भएको प्रहरीले जनाएको छ।>
उक्त घटनामा एउटा भैँसी र दुईवटा गोरु गरी तीन पशुचौपायाको जलेर मृत्यु भएको छ। आगलागीबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा तथा अन्य सामग्रीसमेत नष्ट भएका छन्।>
आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। विष्णुपुरको घटनामा मात्रै प्रारम्भिक विवरणअनुसार करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।>>