काठमाडौं — नेपाल वायुसेवा निगम (नेवानि) का दुवै वाइडबडी जहाज सञ्चालनमा नहुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। जहाज मर्मतमा ढिलाइ हुँदा निगमले निर्धारित उडानहरू निरन्तर रद्द गर्नुपरेको छ।>
निगमले मंगलबारका लागि निर्धारित काठमाडौं–नारिता र नारिता–काठमाडौं उडान रद्द गरेको छ। जापानको नारितामा रहेको एक वाइडबडी जहाज मर्मतपछि काठमाडौं ल्याउने योजना भए पनि निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि उडान रद्द गर्नुपरेको निगमले जनाएको छ।>
उडान रद्द भएपछि चाडपर्वको समयमा यात्रा गर्न टिकट काटेका सयौँ यात्रु प्रभावित भएका छन्।>
निगमको अर्को वाइडबडी जहाज भने नियमित मर्मतका लागि इटाली पठाइएको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी र दुई न्यारोबडी गरी चारवटा जहाज छन्।>
दुईवटै वाइडबडी जहाज सञ्चालनमा नरहेपछि निगमले हालसम्म झन्डै एक दर्जन उडान रद्द गर्नुपरेको बताइएको छ। लगातार उडान रद्द हुँदा निगमलाई करोडौँ रुपैयाँको आर्थिक क्षति भएको छ भने यात्रु सेवासमेत प्रभावित भएको छ।>
निगमका न्यारोबडी जहाजले तुलनात्मक रूपमा छोटो दूरीका गन्तव्यमा मात्र उडान गर्न सक्छन्। लामो दूरीका अन्तर्राष्ट्रिय गन्तव्यमा उडान सञ्चालन गर्न वाइडबडी जहाज आवश्यक पर्ने भएकाले दुवै वाइडबडी जहाज ग्राउन्डेड हुँदा निगमको अन्तर्राष्ट्रिय उडान तालिका प्रभावित भएको हो।>
>>