मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |
मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २२ भाद्र २०८३, सोमबार

बाढीपीडितलाई राज्यको साथ र भरोसा चाहिएको छ : राष्ट्रपति पौडेल

Nepal Akhbar
पीडितका गुनासा आलोचना होइन, समाधानका लागि महत्वपूर्ण संकेत हुन् : राष्ट्रपति

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई अहिले राज्यको साथ, भरोसा र प्रभावकारी सहयोग आवश्यक रहेको बताएका छन्।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेर काठमाडौं फर्किएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका तथा जीविकोपार्जनका आधार गुमाएका नागरिकको पीडा गहिरो रहेको बताए।

उनले बाढीपीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नलिई समस्या समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा बुझ्न सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गरे।

राष्ट्रपति पौडेलले उद्धार, खोजी, राहत, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई अझ प्रभावकारी बनाउन सरकार, स्थानीय तहलगायत राज्यका सबै तह, निकाय र सम्बन्धित पक्षबीच आवश्यक समन्वय भइरहेकोमा आफू विश्वस्त रहेको बताए।

‘यस प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो छ। अहिले उनीहरूलाई राज्यको साथ चाहिएको छ, भरोसा चाहिएको छ,’ राष्ट्रपति पौडेलले भने।

उनले दुःखको यस घडीमा आफू पनि पीडित तथा प्रभावित नागरिकसँगै रहेको विश्वास दिलाए।

पीडितको आवाज सुन्नु राज्यको कर्तव्य

राष्ट्रपति पौडेलले विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य भएको बताए।

उनले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समस्या समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरे।

परिवारका सदस्य तथा आफन्तको खबरको प्रतीक्षामा रहेका नागरिकलाई खोजी तथा उद्धार कार्य निरन्तर जारी रहने विश्वास दिलाउँदै उनले अनिश्चितताको यो क्षणको पीडा सिंगो राष्ट्रले महसुस गरिरहेको बताए।

उद्धार गरिएकालाई आधारभूत सुविधा सुनिश्चित गर्न आग्रह

राष्ट्रपति पौडेलले उद्धार गरिएका प्रत्येक व्यक्तिका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

उनले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

अस्थायी आश्रयस्थल सुरक्षित, व्यवस्थित र मर्यादित हुनुपर्ने उनको भनाइ छ।

त्यस्तै, नेपाली तथा विदेशी नागरिकका परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा बेपत्ता आफन्तको खोजी र घर फिर्ताका लागि आवश्यक सहजीकरण र मानवीय सहयोग उपलब्ध गराउन उनले आग्रह गरे।

मृतकको पहिचानमा विशेष संवेदनशीलता आवश्यक

विपत्तिमा ज्यान गुमाएकाप्रति मर्यादा, सम्मान र करुणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए।

मृतकको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गर्नुपर्ने उल्लेख गर्दै उनले आवश्यकताअनुसार डीएनए नमुना तथा अन्य सम्बन्धित अभिलेख सुरक्षित राखी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउन सरकारको ध्यान जानुपर्ने बताए।

‘मृतकहरूको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गरिनुपर्दछ,’ उनले भने।

बाढीले पूर्वाधारमा व्यापक क्षति

राष्ट्रपति पौडेलले भदौ १० गते हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरो खसेर आएको विनाशकारी बाढीले अकल्पनीय क्षति पुर्‍याएको बताए।

बाढीबाट मानव जीवन, घरपरिवार र नागरिकको जीविकोपार्जनका आधारमा क्षति पुगेको उल्लेख गर्दै उनले सडक, पुल, जलविद्युत् आयोजना लगायत महत्वपूर्ण पूर्वाधारमा समेत व्यापक क्षति भएको बताए।

‘आज सम्पूर्ण राष्ट्र यस भयावह विपत्तिको शोकमा छ,’ राष्ट्रपति पौडेलले भने।

उनले विपत्तिमा परी ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल होस् भन्ने कामना गरे।

उद्धारमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकको प्रशंसा

राष्ट्रपति पौडेलले विपत्तिमा प्रत्यक्ष रूपमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धार र राहतमा संलग्न सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति उच्च सम्मान व्यक्त गरे।

उनले आफ्नो ज्यानको समेत पर्वाह नगरी जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेर पीडित तथा प्रभावित नागरिकको उद्धारमा खटिएका उद्धारकर्मीको योगदानको प्रशंसा गरे।

कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थितिलाई हराइरहेका व्यक्तिको खोजी तथा उद्धारमा अवरोध बन्न दिन नहुने उनको भनाइ छ।

विदेशी नागरिकप्रति पनि समवेदना

राष्ट्रपति पौडेलले नेपालमा कार्यरत, पर्यटकका रूपमा आएका, हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका वा आध्यात्मिक यात्राका क्रममा नेपालमा रहेका विदेशी नागरिकले समेत विपत्तिमा ज्यान गुमाएकोप्रति दुःख व्यक्त गरे।

उनले मृतक विदेशी नागरिकका परिवारप्रति नेपालका तर्फबाट समवेदना व्यक्त गर्दै प्रभावित नागरिक भएका सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगसँग आवश्यक सहकार्य गरिने बताए।

नेपाललाई तत्काल खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरण उपलब्ध गराएर सहयोग गर्ने छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायप्रति पनि उनले कृतज्ञता व्यक्त गरे।

राष्ट्रिय एकताका लागि राष्ट्रपतिको आह्वान

नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न विपत्तिको सामना गर्दै आएको स्मरण गर्दै राष्ट्रपति पौडेलले प्रत्येक पटक नेपाली जनताले साहस, धैर्य, संयम र दृढताका साथ कठिन परिस्थितिको सामना गरेको बताए।

उनले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकलाई कठिन घडीमा एकताबद्ध भएर उभिन आह्वान गरे।

यो विभाजन, एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय नभएको उल्लेख गर्दै उनले राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्न आग्रह गरे।

‘यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो,’ उनले भने।

विकास मोडेलमा पुनर्विचार गर्नुपर्ने संकेत

राष्ट्रपति पौडेलले विपत्तिपछि पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानसँगै नेपालको विकास मोडेलमाथि पनि पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार पछिल्लो विपत्तिले नेपालको हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था देखाएको छ। साथै, विश्वव्यापी तापक्रम निरन्तर बढ्दै जाँदा त्यसबाट उत्पन्न जोखिमप्रति नेपाल थप गम्भीर हुनुपर्ने अवस्था आएको उनले बताए।

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

राष्ट्रपति पौडेलले नेपालजस्ता पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रको आवाज सुन्न मात्र नभई जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे।

‘म अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु,’ उनले भने।


प्रतिक्रिया

सम्बन्धित समाचार