काठमाडौं । भोटेकोशी बाढीपछि नेपालमा उत्पन्न विपद्को सामना गर्न विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग र ऐक्यबद्धता जनाएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसोसम्म २९ देशले नेपाललाई सहयोग तथा समर्थन उपलब्ध गराएका छन्।>
विपद्को समयमा केही देशले अत्यावश्यक मानवीय सामग्री उपलब्ध गराएका छन् भने केहीले आर्थिक सहयोग तथा अन्य आवश्यक सामग्री पठाएका छन्।>
परराष्ट्र मन्त्रालयका अनुसार नेपाललाई सहयोग गर्ने मुलुकमा भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लाट्भिया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक गणतन्त्र रहेका छन्।>
त्यस्तै, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक र संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संस्था तथा मित्रराष्ट्रहरूले पनि नेपाललाई सहयोग गरेका छन्।>
विपद्को कठिन परिस्थितिमा प्राप्त अन्तर्राष्ट्रिय सहयोगप्रति नेपाल सरकारले आभार व्यक्त गरेको छ। व्यक्तिगत तथा विभिन्न सामाजिक संस्थाहरूले समेत नेपाललाई सहयोग गर्ने घोषणा गरेका छन्।>
शव पहिचानमा चार देशका फरेन्सिक टोली
बाढीमा परी मृत्यु भएकाहरूको शव पहिचानलाई तीव्र बनाउन चार देशका फरेन्सिक टोली नेपालमा परिचालित भएका छन्।>
परराष्ट्र मन्त्रालयका अनुसार भारत, चीन, सिंगापुर र दक्षिण कोरियाबाट आएका फरेन्सिक विशेषज्ञहरूले नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेका छन्।>
टोलीहरूले मृतकका अवशेषबाट डीएनए नमुना संकलन, परीक्षण तथा विश्लेषण गर्दै पहिचान प्रक्रियालाई छिटो सम्पन्न गर्न सहयोग गरिरहेका छन्।>
विपद्पछि उद्धार, राहत तथा मृतकको पहिचानजस्ता संवेदनशील कार्यमा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहयोगले नेपालका सम्बन्धित निकायलाई थप सहजता मिल्ने अपेक्षा गरिएको छ।>
>>