काठमाडौँ — स्वास्थ्य बीमा बोर्डले आगामी पुस १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ।>
बोर्डको दोस्रो बैठकले नयाँ आबद्धता, बीमा नवीकरण तथा स्वास्थ्य बीमा सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो।>
बोर्डद्वारा जारी प्रेस नोटअनुसार अब बीमित परिवारले इ-पोर्टलमार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ। यस व्यवस्थाले बीमितको पहिचान सुनिश्चित गर्नुका साथै दोहोरो आबद्धता नियन्त्रण गर्न र दाबी व्यवस्थापनलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ।>
त्यस्तै, स्वास्थ्य सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक र लागत–प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि भएको छ। कार्यदलले सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट, वर्गीकरण तथा भुक्तानी विधिसहितको प्रतिवेदन ६० दिनभित्र पेश गर्नेछ।>
डिजिटल प्रणाली सुधारअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाबाट इएमआर (Electronic Medical Record) प्रणालीमार्फत प्राप्त स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई समेत मान्यता दिने निर्णय भएको बोर्डले जनाएको छ।>
>>